बहुमतीय सरकारमा एमाले जाँदैन PDF Print E-mail
तपाईंले राष्ट्रिय सहमतिको सरकार भनेर धेरैपटक दोहो-याउनुभयो, आफैँ पनि बहुमतको सरकारको प्रधानमन्त्री हुनुभयो, तपाईंले राजीनामा दिएपछि पनि बहुमतकै सरकार बन्ने भो । तपाईंहरूको नारा त असफल हुने देखियो नि ?
वास्तावमा अहिलेको आवश्यकता भनेको नै राष्ट्रिय सहमति हो । संविधानसभाको निर्वाचनभन्दा अगाडि वा त्यो निर्वाचनसम्म हामी राष्ट्रिय सहमतिकै बाटोमा हिँडिरहेका थियौँ । राष्ट्रिय सहमतिको बाटोमा हिँडेकाले नै १२ बुँदे सहमति गर्न सक्यौँ । शान्तिपूर्ण जनक्रान्तिको आँधीबेहरी सिर्जना गर्न सक्यौँ । बृहत् शान्ति सम्झौता गर्न सक्यौँ । र, संविधानसभाको निर्वाचन गर्न सक्यौँ । सहमतिको बाटोमै हिँडेका कारण राजतन्त्रको अन्त्य गर्न सक्यौँ, अन्तरिम संविधान निर्माण गर्न सक्यौँ । यी सबै हाम्रा सहमतिका प्रतिफलहरू हुन् । तर, संविधानसभाको निर्वाचनपछि अनावश्यक प्रतिस्पर्धातर्फ लाग्ने जुन बाटो राजनीतिक पार्टीहरूले लिए, त्यो मुलुकका निम्ति दुर्भाग्यपूर्ण थियो । अझ त्यसपछि त यस्तोसम्म भयो कि प्रधानमन्त्रीको निर्वाचन भएको भई भयो । १७ पटकसम्म निर्वाचन भयो, तर सरकार नै बन्न नसक्ने अवस्था देखियो । त्यो अवस्थामा मैले पहलकदमी लिएर मुलुकलाई नयाँ सरकार दिने जमर्को गरेँ, त्यसमा म सफल पनि भएँ । त्यो सरकार बनाउँदा पनि राष्ट्रिय सहमतिको आवश्यकता छ भनेर भनेका थियौँ । त्यतिबेला पनि हामीले शान्ति, संविधान, मुलुकको आमूल परिवर्तन र मुलुकको स्वाधीनता र सार्वभौमसत्तालाई सुदृढ बनाउने उद्देश्यले नै हामीले त्यो पहलकदमी लिएका थियौँ । तर, सम्बन्धितपक्षको उत्साहपूर्वक सहयोगको अभाव तथा शान्ति र संविधानप्रतिको एक किसिमको अनिच्छाले गर्दा ती कामहरू यथोचित रूपमा समयमा हुन सकेन ।

सम्बन्धितपक्ष भनेको चाहिँ को हो ?
सम्बन्धितपक्ष भनेको यो देशका ठूला पार्टीहरू नै हुन् । साना पार्टीहरूलाई म दोष दिन चाहन्नँ । ठूला पार्टीहरू जसको काँधमा शान्ति र संविधानलाई पूर्णतामा पु-याउने जिम्मेवारी छ, ती पार्टीका नेताहरू जुन ढंगले लाग्नुपर्ने थियो त्यसरी नलागेर निरन्तर सत्तालिप्सामा, कसरी आफ्नो हातमा सत्ता आउँछ, कसरी मन्त्री वा उपप्रधानमन्त्री वा प्रधानमन्त्री बन्न पाइन्छ भन्ने कुरामा बढी केन्द्रित भएर लागेका कारणले शान्ति र संविधानले प्राथमिकता पाउन सकेन । आजसम्म पनि शान्ति र संविधानले प्राथमिकता पाउन सकेको छैन । यो देशको ठूलो दुर्भाग्य हो । यदि, अब पनि हामी बहुमतीयतर्फ जान्छौँ र मुलुकलाई राष्ट्रिय सहमतितर्फ लादैनौँ भने यो मुलुकलाई खाडलमा हाल्ने काम अहिलेको नेतृत्व पंक्तिले गर्छ भन्नेमा कुनै दुविधै छैन ।

सत्तालिप्सामा सबैभन्दा अगाडि त एमाले नै देखियो होइन र ? चुनावपछि लगातार दुई–दुईपल्ट सरकारको नेतृत्व ग-यो, त्यो पनि असफल रूपमा ।
निर्वाचनको प्रक्रियामा जाँदा पनि एमालेले राष्ट्रिय सहमतिको दिशामा अगाडि बढ्नुपर्छ भनेको हो । एमालेले निर्वाचनपछि जस्तोसुकै परिणाम आए पनि सहमतिको सरकार बन्नुपर्छ भन्दै आएको हो । निर्वाचनको परिणाम आइसकेपछि मैले इलामबाटै अब राष्ट्रिय सहमतिको सरकार बन्नुपर्छ र त्यसको नेतृत्व सबैभन्दा ठूलो दलले गर्नुपर्छ भनेको हुँ । त्यो क्रममा मैले राष्ट्रिय सहमतिको सरकार बनाउन धेरै कोसिस गरेँ । तर, त्यतिबेला माओवादी कांग्रेसलाई सरकारमा ल्याउन इच्छुक देखिएन । एउटा रक्षा मन्त्रालयका कारणले एकता हुन सकेन । त्यही नै यो दुर्भाग्यपूर्ण बाटोतर्फको प्रस्थानबिन्दु थियो । त्यो सरकार सफल हुन सम्भव थिएन, भएन पनि । दोस्रोपटक हाम्रै पार्टीका वरिष्ठ नेता कमरेड माधवकुमार नेपालको नेतृत्वमा सरकार बन्यो । त्यो झन् अझै कन्फन्टेसनका साथ बहुमतीय सरकार बन्यो । त्यसले शान्ति र संविधानलाई पूरा गर्न सम्भवै थिएन, स्वभाविक रूपले त्यो पनि असफल भयो । त्यसपछि सरकारै बन्न नसकिरहेको एउटा अवस्थामा सात महिनासम्म केयर टेकर सरकार रहनुपर्ने बाध्यात्मक परिस्थितिलाई चिर्न र मुलुकलाई एउटा सरकार दिएर त्यसमार्फत राष्ट्रिय सहमतितर्फ लाग्नुपर्छ भन्ने ध्येय अगाडि राखेर मेरो नेतृत्वमा अर्को बहुमतीय सरकार बन्यो । त्यो नेपाली बुद्धिविवेकका साथ निर्माण भएको एउटा प्रगतिशील सरकार थियो । त्यसले शान्ति र संविधानलाई टुंग्याउन सक्ने भरपुर आधार थिए । तर, सबैभन्दा ठूलो दलका रूपमा रहेको माओवादीले जति जिम्मेवारीपूर्वक लाग्नुपथ्र्यो त्यसरी नलाग्दाखेरी शान्ति र संविधानको पक्षमा ठूला अग्रगति हासिल हुन सकेन । यद्यपि शान्ति र संविधानमा हामीले केही अग्रगति हासिल गरेका छौँ । शान्तिप्रक्रियाकै सन्दर्भमा मैले पछिल्लोपटक एउटा प्रस्तावसमेत अघि सारेँ । त्यो प्रस्तावमा ठूलो मतभेद कसैको पनि रहेन, अहिले पनि छैन । तर, त्यो कुरालाई प्राथमिकता दिने कुरामा उहाँहरू (माओवादी र कांग्रेस) प्राथमिकतासाथ आउन सक्नुभएन । त्यसैले मुलुकले शान्ति र संविधान टुंगोमा पुग्न सकेको देख्न पाएन ।

संविधान निर्माणमा मतभेद घट्दै जानु, तर सरकारको नेतृत्व लिने विषयमा भने अविश्वास बढ्दै जानुको कारण चाहिँ के हो ?
मुख्य दलमध्ये केही ठूला दलहरू कसले नेतृत्व लिने भन्ने होडबाजीमा लागे । त्यो पनि स्वस्थ ढंगले अगाडि बढ्दा ठूलो कुरा थिएन, तर मेरो नेतृत्व नभइकन मुलुक अगाडि बढ्नै सक्दैन भन्ने ढंगको अडान लिने कुराले अरू सबै सम्भाव्य सहमतिका शृंखलाहरूलाई ओझेलमा पार्ने काम भएको छ । मेरो अहिले पनि अपिल छ यी दुईवटा पार्टीहरूलाई, उनीहरू एकआपसमा निकट आउनै पर्छ, समफदारी गर्नै पर्छ । यदि समझदारी नगरेर फाट्ने हो र मुलुकलाई फटाउने हो भने यो सिंगो मुलुकका लागि दुर्भाग्यपूर्ण कुरा हुनेछ । उनीहरू दुवैलाई मैले भन्नैपर्छ पाँचबुँदे सहमति किन गरेको ? सहमतिको मर्म र भावना के त्यो कुरालाई तीन महिना पनि नपुग्दै भुल्न मिल्छ ? यी प्रश्नहरूको जवाफ माओवादीसँग के छ ? नेपाली कांग्रेससँग के छ ? म सोध्न चाहन्छु ।

सहमति नहुनुको पछाडि कांग्रेस र माओवादी मात्रै दोषी हुन् ?
यी दुई पार्टीभित्र रहेको हठ, आत्मकेन्द्रित चिन्तन र आफ्नो स्वार्थका साथ सबै कुरालाई हेर्ने प्रवृत्ति सहमति नहुनुको प्रमुख कारण हो ।

सहमति निर्माण गर्न एमालेको चाहिँ जिम्मेवारी छैन ? एमालेको कत्ति पनि दोष छैन ?
नेकपा एमाले यो दोषबाट मुक्त छ । एमाले राष्ट्रिय सहमतिको पक्षमा छ । केही केही मानिस बहुमतीय सरकार बन्यो भने त्यसमा जान खुट्टा उचालेर बसेका होलान्, तर त्यसरी खुट्टा उचाल्ने कुरा भनेको मुलुकलाई भड्खालोमा हाल्नु हो ।

त्यसो भए बहुमतीय सरकारमा एमाले जाँदैन ?
बहुमतीय सरकारमा नेकपा एमाले जानु भनेको मुलुकलाई भड्खालोमा हाल्न सहयोग पु-याउनु हो । नेकपा एमाले बहुमतीय सरकारमा समावेश हुन सक्दैन ।

विगतमा १६–१६ पटक चुनाव हुँदा पनि सरकार बन्न नसकेपछि एमालेले मुलुकलाई अनिर्णयको बन्दी बनाएको आरोप लागेको थियो, यसपटक पनि यस्तै भयो एमालेलाई नैतिक संकट पर्दैन ?
हामी जिम्मेदारीपूर्वक परिस्थितिको सामना गर्छौं । परिस्थितिले सिर्जना गरेका जटिलता र चुनौतीहरूको सामना गर्न हामी होशियारीपूर्वक छलफल गर्छौं । आवश्यकताअनुरूप खास वेलामा खास कदम चाल्नुप-यो भने स्थायी समिति, पोलिटब्युरो वा केन्द्रीय कमिटीका बैठक बसेर आवश्यक निर्णय गर्छौं । तर, हामी बुहमतीय सरकारमा सामेल भएर मुलुकलाई दुर्गतितिर लान चाहँदैनौँ ।

शान्ति र संविधानलाई टुंगोमा पु-याउन कांग्रेस वा माओवादी कसको नेतृत्व भयो भने सहज हुन्छ ?
अहिलेको अवस्थामा यो वा उसको नेतृत्वमा सहज हुन्छ भनेर निष्कर्ष निकाल्न सकिँदैन । के आधारमा निष्कर्ष निकाल्ने ? जसले शान्तिप्रक्रिया र संविधान निर्माणलाई टुंगोमा पु-याउने ग्यारेन्टी गर्छ हामीले उसलाई साथ दिनुपर्ने हुन्छ । ठोस योजना र कार्यक्रमका साथ एकदमै सुस्पष्ट प्रतिबद्धताका साथ कोही आउँछ र विश्वासयोग्य वातावरण बन्छ भने हामीले विचार गर्नुपर्ने हुन्छ । अहिले देश र प्रवासमा बस्ने आमजनता राष्ट्रिय सहमतिको पक्षमा छन् । एमाले र संविधानसभाका अधिकांश दल राष्ट्रिय सहमतिको पक्षमा छन्, यी सबैको भावनालाई दुईवटा पार्टीले बुझ्नुपर्दैन ?

शान्तिप्रक्रिया पूरा हुन नदिन माओवादी र कांग्रेसका कुन–कुन अडानले अप्ठेरो पारेको छ ?
यी दुइटै पार्टीले पाँचबुँदे सहमतिमा किन हस्ताक्षर गरे ? त्यो सहमतिको मर्म र भावनालाई बुझ्न किन सकेनन् ? त्यतिबेला प्रधानमन्त्रीले राजीनामा गरेपछि राष्ट्रिय सहमतिको मार्ग खुल्छ भनेको होइन ? नेपाली कांग्रेसले पटक–पटक संसद्लाई चल्न नदिएर प्रधानमन्त्रीले राजीनामा दिएपछि राष्ट्रिय सहमति हुन्छ भनेको होइन ? खोई राष्ट्रिय सहमति ? त्यसरी राजीनामा मागिसकेपछि राष्ट्रिय सहमतिको सरकार बनाउन सबैभन्दा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने हो कि होइन ? कांग्रेसले कसरी आफूलाई लोकतान्त्रिक पार्टी मान्छ ? के आधारमा लोकतान्त्रिक पार्टी भन्छ, दुनियासामु ? पाँचबुँदे सहमतिलाई लत्याउने हो भने कुन नैतिकताले राजनीतिक पार्टीहरू राष्ट्रिय सहमति छाडेर बहुमतीयतर्फ जान सक्छन् ? नेपाली जनता हेर्दैछन् कुन पार्टीका नेतासँग कति नैतिकता छ ? अब देशले परीक्षा गर्दैछ । नैतिकता बाँकी छ कि छैन कसैसँग ?

अनि माओवादीले चाहिँ के गरेन ?
पाँचबुँदे सहमतिमा प्रधानमन्त्रीले राजीनामा दिएर सहमतिको मार्गप्रशस्त गर्ने भन्नेमा उसले पनि हस्ताक्षर ग-यो । त्यसैले माओवादीले पनि राष्ट्रिय सहमतिबाहेक अरू कतैतिर उभिन मिल्दैन नैतिकता छ भने । पाँचबुँदे सहमति व्यवस्थापिका संसद् र संविधानसभाको सम्पत्ति बनेको छ, स्वयं सभामुखको अध्यक्षतामा अनुगमन समिति बनेको छ, यसको विपक्षमा माओवादी उभिन्न मिल्छ ?

होइन, राष्ट्रिय सहमतिको वकालत त सबैले गरेकै छन् नि ?
म यही कारण त खबरदारी गरिरहेको छु, बोल्न राष्ट्रिय सहमतिकै कुरा बोल्ने, तर व्यवहार हेर्नुस् । साथीहरू भित्री व्यवहारमा चिप्लिने हुन् कि नैतिक धरातलबाट खस्ने हुन् कि भनेर खबरदारी गरिरहेको छु ।

शान्तिप्रक्रियालाई निष्कर्षमा पु-याउने कुरामा तपाईं सत्तासाझेदार माओवादीप्रति निक्कै आशावादी देखिनुहुन्थ्यो, पछिल्लो समयमा के भएर माओवादीप्रतिको विश्वास घट्यो ?
पाँचबुँदे सहमतिमा हस्ताक्षर गरिसकेपछि मैले दुईटै दलसँग घनिभूत रूपले वार्ता गरेँ । पटक–पटक वार्ता गरेँ र मैले सोधेँ, के हो तपाईंहरूको प्राथमिकता ? मैले राजीनामा दिने कुरा प्राथमिकता हो कि शान्तिप्रक्रिया र संविधान निर्माण ? नयाँ सरकार बनाउने कुरा प्राथमिकता हुन् भने भन्नुस् म राजीनामा दिन्छु भनेँ । उहाँहरूले होइन शान्तिप्रक्रिया र संविधान निर्माण हाम्रो प्राथमिकता हो भन्नुभयो । तर, विस्तारै प्राथमिकताहरू बदलिँदै गए । मैले त्यसै क्रममा शान्तिप्रक्रियाका कामलाई अगाडि बढाउने सिलसिलामा एउटा प्रस्ताव पनि तयार गरेँ । शान्तिप्रक्रियाका सन्दर्भमा पाँचवटा मुख्य कुरा हुन् । एउटा कस्तो ढाँचामा समायोजन गर्ने, समायोजनको मापदण्ड के हुन्छ, कति संख्या उपयुक्त हुन्छ ? दर्जा मिलान कसरी हुन्छ, पुनस्र्थापनाको प्रक्रिया कसरी अगाडि बढाउने । यी पाँचवटा मुख्य मुद्दा हुन् । यिनमा पार्टीहरूका बीचमा धेरै निकटता छ । साना–साना मात्रामा भएका डिफ्रेन्सेस्हरूमा मिल्न र मिलाउन नसकेर मुलुक यो अवस्थाबाट गुज्रिरहेको छ । ठूला मुद्दा केही पनि बाँकी छैनन् ।

यति हुँदाहुँदै पनि तपाईंहरूले प्रगति देखाउन सक्नुभएन, अब संविधानसभाको म्याद थप्न नैतिक बल पनि कमजोर भएन र ?
पाँचबुँदे सहमतिमा हामीले प्रस्ट भनेका छौँ, शान्तिप्रक्रियामा मूलभूत काम समाधान हुनुपर्छ र संविधानको पहिलो खाका निर्माण हुनुपर्छ । यो दुईवटा अत्यन्तै महत्वपूर्ण प्रतिबद्धता हो । त्यो प्रतिबद्धताका आधारमा हामीले पाँचबुँदे सहमति गरेका थियौँ । अहिले यहाँसम्म आइपुग्दा ती पूरा ग-यौँ कि गरेनौँ ? यो सबै पार्टीसामु यक्ष प्रश्न हो । यसको जवाफ देश, जनता र संविधानसभाले खोजेको छ ।

जवाफ दिने कसले त ?
यसको जावफ दिने मुख्य पार्टी ठूलो पार्टी भएको हैसियतले नेकपा माओवादीले हो ।

तपाईंहरूले पनि त दिनुपर्ला नि, कि पर्दैन ?
हामीले पनि दिनुपर्छ । तर, पहिलो भारी माओवादीको काँधमा छ, दोस्रो भारी कांग्रेस र तेस्रो भारी हाम्रो पनि काँधमा छ । हामी यसबाट पन्छिन चाहँदैनौँ र किन यो स्थिति आयो भने एमाले स्पष्ट रूपले आफ्नो दृष्टिकोण राख्न चाहन्छ ।

शान्ति र संविधानमा कुनै प्रगति नहुने भए संविधानसभाको म्याद मात्रै थप्दै जाने कुरा चाहिँ कत्तिको उपयुक्त हो ?
संविधानसभाको आयु मात्रै लम्ब्याइरहनुपर्छ भन्ने कुरा बेठीकै हो । तर, हामी अहिले दुईवटा ऐतिहासिक कार्यभार निर्वाह गर्दै आएका छौँ । एउटा राजनीतिक परिवर्तन र रूपान्तरणको प्रक्रिया, दोस्रो द्वन्द्व व्यवस्थापन र रूपान्तरणको प्रक्रिया । यी दुईवटै प्रक्रिया एकैपटक समयमै अघि बढेको दृष्टान्त विश्वमा विरलै छन् । समयको सीमाले मात्रै बाँधेर सबै समस्या समाधान हुँदैनन् । समाधान प्रक्रियामा आवश्यक अरू समय पनि लाग्न सक्छ । आवश्यक समय लगाएर समस्या समाधान गर्नुपर्छ, यो राष्ट्रको आवश्यकता र बाध्यता पनि हो । म्याद बढाउँदै समस्याको समाधान गर्नुबाहेक हाम्रासामु अर्को विकल्प छैन ।

तपाईंले आत्मविश्वासका साथ गरेको शान्तिप्रक्रियामा ‘बे्रेक थ्रु’ हुने घोषणामा माओवादी अध्यक्ष प्रचण्डले समर्थन जनाउनुभएको थियो । धेरै मान्छेमा केही हुन्छ भन्ने आशा पनि पलाएको थियो, तर ब्रेक थ्रु भएन, के भएर अड्कियो ?
त्यसबेला मैले माओवादीका नेताहरूसँग धेरै गहिरो कुरा गरेको थिएँ । उहाँहरूले केही अवधिमै हामी निष्कर्षमा पुग्छौँ भन्ने कुरा गर्नुभएको थियो । छलफल गर्दा अघि मैले भनेका पाँचवटा विषयमा धेरै ठूलो मतभिन्नता पनि थिएन । अहिले पनि छैन । ती विषयवस्तुमा गम्भीरतापूर्वक लागेको खण्डमा समाधान हुन्छ भन्ने मलाई पनि विश्वास थियो । त्यस आधारमा मैले तपाईंहरूलाई पनि बोलाएर यी कुरा भनेँ । तर, प्राथमिकता बदलिँदै गयो । ठीक त्यही विन्दुमा गएपछि शान्ति र संविधानलाई प्राथमिकता दिँदै आएको कांग्रेसको पनि प्राथमिकता बदलियो, उसले होइन प्रधानमन्त्रीको राजीनामा चाहियो भन्न थाल्यो । अलिअलि उत्साह आउन थालेको माओवादीमा पनि तुषारापात भयो । परिणामस्वरूप देखापरेको त्यो राम्रो सम्भावना तुहियो ।

प्रतिपक्षी कांग्रेस र आफ्नै पार्टीलाई बेवास्ता गरेर माओवादीलाई मात्रै बोकेर हिँडेको आरोप पनि त लागेको छ नि तपाईंलाई ?
मैले यस्ता आरोप धेरै खपेँ । पार्टीभित्रका र बाहिरका आरोपको आँधीबेहरी नै आयो । आरोप आउँदा आउँदै मैले देशको शान्तिप्रक्रिया अगाडि बढाउन कतिपय जोखिमपूर्ण कदम चालेकै हो । त्यो जोखिमपूर्ण कदमप्रति मेरो कुनै असन्तुष्टि र पश्चाताप छैन । राष्ट्र, जनता र अग्रगतिका लागि जोखिमपूर्ण पाइला चालेको हुँ । मैले सहकारीहरूबाट सहयोगको अपेक्षा गरेको थिएँ, मुख्य सहकारीबाटै मैले चाहेजस्तो सहयोग पाइनँ ।

शान्ति र संविधान निर्माणका लागि देखिने गरी के काम गर्नुभयो तपाईंले ?
यो कालखण्डमा संविधान निर्माणका असंख्य मतभेदलाई हामीले अन्त्य गरेका छौँ । हामीसँग दुई सयभन्दा बढी मतभिन्नता थिए, त्यसलाई व्यवस्थित गरेका छौँ । अब शासकीय स्वरूपको निर्धारण, आगामी निर्वाचन पद्धतिको निर्धारण र राज्यको पुनर्संरचनामा विवाद मात्रै छ । यी तीनमध्ये पनि दुईवटामा धेरै मक्मक्याइसकेका छौँ, ती समाधानउन्मुख छन् । पुनर्संरचनामा पछिल्लो कालमा हामी रचनात्मक दिशामा छौँ । त्यसैले संविधान निर्माणमा त हामीले उल्लेख्य प्रगति गरेका छौँ । शान्तिप्रक्रियामा पनि दोहोरो सुरक्षा अन्त्य गर्ने, सबै शिविरमा लडाकुको सर्भेक्षण टोली पठाउने कुरा, आइसिसी हाताभित्र नै सिचुएसन सेन्टर स्थापना गर्ने कुरा र सबै शिविरबाट हरेक दिन सूचना संकलन गर्ने कुराको व्यवस्था हामीले ग-यौँ । यी महत्वपूर्ण पूर्वाधार हुन्, शान्तिप्रक्रियाका लागि । प्रगति भएका छन्, आग्रहपूर्ण कोणबाट हेर्नेहरूले मात्र प्रगति भएको छैन भनेका हुन् ।

शान्तिप्रक्रियामा सहमतिनजिक पुगेर पनि सत्तालिप्साका कारण सहमति हुन सकेन भन्नुभयो, प्रधानमन्त्रीको कुर्सीमा त्यस्तो के आकर्षण पाउनुभयो ?
मैले ६ महिनाभन्दा केही बढी समय प्रधानमन्त्रीको कुर्सीमा बस्दाखेरी यो कुर्सी धेरै जिम्मेदारीपूर्ण, गौरवपूर्ण महसुस भयो । तर, यहाँ त्यस्तो चित्र विचित्रको कुनै अलौकिक आकर्षण देखिनँ । यहाँ बसेर देश, जनता, राष्ट्रका निम्ति समर्पित भएर सोच्ने, समर्पित भएर लाग्ने निष्ठावान, कर्तव्य परायण व्यक्तिको यो कुर्सीमा आवश्यकता छ । एक महिना बसोस्, एक दिन, वा एक वर्ष बसोस् र जति लामो बसोस् इमानदार भएर बसोस्, त्यसले नै मुलुकलाई ठूलो योगदान गर्न सक्छ ।

एमालेकै नेता केपी ओलीले त तपाईंलाई माओवादीको पुच्छर भएर पार्टी फुटाउन लागेको आरोप सार्वजनिक रूपमै लगाउनुभयो नि ?
को कसको पुच्छर भन्ने कुरा इतिहासले मूल्यांकन गर्छ । कोही कांग्रेसका पुच्छर होलान् कोही माओवादीका पुच्छर होलान् । तर, हाम्रो नेकपा एमाले कसैको पुच्छर हुन सक्दैन । नेकपा एमाले स्वतन्त्र जगमा उभिएको स्वतन्त्र सोच विचार लिएर उभिएको सार्वभौम पार्टी हो । यसले विगतदेखि अहिलेसम्म खेलेको ऐतिहासिक भूमिकाले यो पार्टी कसैको पुच्छर हुन सक्दैन भन्ने पुष्टि गरेको छ । व्यक्तिहरू आयाराम गयाराम हुन् सक्छन्, तर पार्टी आफ्नो अस्तित्वमा उभिएको छ ।

प्रधानमन्त्रीको कुर्सीमा बसेर देशको हालत कस्तो देख्नुभयो ?
देशमा धेरै बेथिति छ । हामी पुरानो व्यवस्थालाई तोडेर नयाँ व्यवस्थामा अघि बढ्दैछौँ । संक्रमणकालमा छौँ, हामीकहाँ संविधान बनेको छैन । हामीले सिर्जना गरेका परिवर्तनका मूल्य र मान्यतालाई संस्थागत गरेका छैनौँ । यो संक्रमणकाललाई हामीले लम्बिन दिनुहुँदैन । जति लम्ब्यायो त्यति नै भद्रगोल, अराजकता, अनुशासनहीनता सिर्जना हुन्छ । यो कुर्सीमा बस्ने मान्छेले समयावधिलाई कसरी छोटो बनाउने र व्यवस्थापन गर्ने भन्ने सोच्नुपर्छ । र, मुलुकको आर्थिक उत्पादन बढाउने र जनताको जीवन समृद्ध बनउनेतिर सोच्नुपर्ने हुन्छ ।

प्रधानमन्त्री इमानदार भए कति प्रतिशत काम हुन्छ जस्तो लाग्छ ?
यदि, देशको प्रधानमन्त्री इमानदार छ, निष्ठावान र कर्तव्य परायण छ, दृढ पनि छ भने र त्यस हिसाबले अगाडि बढ्ने भिजन र समर्पण पनि छ भने ठूलो फरक पर्छ ।

आफूलाई चाहिँ कहाँ पाउनुभयो तपाईंले ?
म अत्यन्तै प्रतिकूल परिवेशका बीचमा प्रधानमन्त्री भएको हुँ । प्रधानमन्त्रीको कुर्सीमा बसेर मैले जति समय काम गरेँ, शान्ति र संविधानका कामलाई टुंग्याउन नसके पनि यो मुलुकलाई सञ्चालन गर्ने काममा सामाजिक, सांस्कृतिक, आर्थिक रूपले अगाडि बढाउने काममा म सन्तुष्ट छु । मेरो नेतृत्वको सरकार एउटा निश्कलंक सरकारका रूपमा दिन सकेँ । यो सरकार आफ्नै बुद्धि र विवेकमा चल्ने प्रगतिशील सरकारका रूपमा रहेको छ । निकै लामो समयसम्म संसद्मा नीति र कार्यक्रम पनि प्रस्तुत हुन सकेको थिएन, बजेट प्रस्तुत हुन सकेको थिएन, हामीले सहमतिका साथ प्रस्तुत गर्न सक्यौँ ।

सरकारले आज (मंगलबार) मात्रै संविधानसभाको म्याद थप्न संसद्मा विधेयक दर्ता गरेको छ तर, प्रमुख सत्तासाझेदार माओवादीले यसमा विमति जनाएको छ । किन ?
हामीले सर्वदलीय बैठक बोलाएका थियौँ । त्यसमा विभिन्न दलका साथीहरूले आफ्नो कुरा राख्नुभयो । सबैको साझा विचार संविधानसभाको म्याद थप्नुपर्छ भन्ने थियो । म्याद कति थप्ने भन्नेमा केही विवाद देखापरे । माओवादीले कम्तीमा ६ महिना थप्नुपर्छ भन्ने कुरा अगाडि सारेको थियो । अरू कतिपयको तीन महिना कसैको नौ महिना भन्ने थियो । हाम्रो पार्टी तीन महिना बढाउनुपर्छ भन्नेमा थियो । सबै कुराको धारमा साझा के निस्क्यो भने तीन महिना बढाउनुपर्छ भन्नेमा सबै उभिएको देखियो । तीन महिना बढाउने हामीले निर्णय ग-यौँ, त्यसमा माओवादीलाई चित्त बुझेन, उनीहरूले हामी क्याबिनेटको बैठकमा बस्दैनौँ भनेर बाहिर निस्के । मैले ठीक छ, क्याबिनेटले निर्णय गरेर अगाडि बढ्छ भनेँ ।

यसले विधेयक पारित गर्न अप्ठेरो पर्छ कि पर्दैन ?
अहिले सरकारले दर्ता गरेको भनेको प्रस्ताव हो । प्रस्तावमा सबैले छलफल गर्न र संशोधन राख्न पाइन्छ । प्रमुख प्रतिपक्ष आजको बैठकमा आउँदै आएन । उसको आफ्नै धारणा हुन सक्छ । माओवादीको पनि आफ्नो संशोधन हुन सक्छ । त्यस विषयमा संसद्मै छलफल गरेर टुंगोमा पुग्न सक्छौँ ।

एमालेको कुरा गरौँ, तपाईंले माओवादीका मन्त्रीलाई शपथ गराउँदा एमालेमा ठूलै भूइँचालो गयो है ?
ठूलो होइन, सानो–सानो भूइँचालो गयो । त्यसले त्यस्तो ठूलो क्षति केही गरेन । अलिअलि हल्लायो मात्रै । त्यो धेरै रेक्टरस्केलको थिएन ।

पार्टीको निर्णय उल्लंघन गरेर शपथ किन गराउनुभएको त नि ?
पार्टीले निर्णय नै गरेको थिएन ।

अरू नेताहरूले निर्णय भएको हो भन्छन् नि ?
पार्टीको स्थायी समितिको बैठक बसेको हो । त्यसले केन्द्रीय कमिटीको बैठक बोलाएको पनि हो । तर, शपथग्रहणको सन्दर्भमा अहिले छलफल नगरौँ भनेर मैले बैठक स्थगित गरेर हिँडेको हुँ । त्यो स्थगित भइसकेको बैठकले गरेको निर्णयलाई के भन्ने ?

अनुशासन आयोगले त प्रश्न उठायो नि ?
प्रश्न जहाँबाट उठे पनि यथार्थसँग त्यसको ठोस सम्बन्ध हुनुपर्छ ।

पार्टीभित्रको विवाद व्यवस्थापन भइसकेको हो कि बाँकी छ ?
यी कुराहरू पार्टीभित्रका कुरा हुन् । बाहिर जसरी ल्याउने काम भयो यो आफैँमा दुःखद् छ । अहिले पनि पार्टीभित्रै छलफल गरेर व्यवस्थापन गर्नुपर्छ । एमालेले निर्णायक भूमिका नखेलेसम्म मुलुक अगाडि बढ्न सक्दैन । न माओवादीको उग्रवामपन्थी अराजकताले न कांग्रेसको दक्षिणपन्थी यथास्थितिवादले मुलुकलाई निकास दिन सक्छ । एमालेले आफूलाई व्यवस्थित गरेर आउँछ, आउनुपर्छ ।

–खगेन्द्र पन्त / रामशरण बजगाईं
नयाँ पत्रिका दैनिक , ७ भदौ २०६८
 
'माओवादीले पुनर्विचार गरोस्’ PDF Print E-mail

मन्त्रिमण्डल पुनर्गठन हुन्छ कि हुँदैन ?

जिम्मेवार पार्टीले शुद्धिपूर्ण निर्णय गर्नुपर्छ । माओवादीलाई उसका निर्णय गर्ने हक छ । तर जुन निर्णय गरेको छ त्यसलाई समग्र परिप्रेक्ष्यसँग गाँसेर गरेको भए राम्रो हुन्थ्यो । त्यो निर्णय पुनर्विचार गर्नुहोस् भनेको छु । मलाई आशा छ पुनर्विचार गर्नुहुनेछ । र, मुलुकलाई अग्रगति दिन अझ फराकिलो आधार तयार गर्नुहुनेछ ।

पुनर्विचार नगरे ?

पाँच वर्षको संक्रमणकालमा हामीले अनेक मोड पार गरेका छांै । द्वन्द्व र राजनीतिक रूपान्तरण पनि अघि बढेको छ । यो क्रममा हामी जुन प्रकारका जटिलता र चुनौतीसाथ अघि बढेका छौं, यदि पुनर्विचार गर्नुभएन भने हाम्रा सामु चुनौती र जटिलता झन् बढ्छन् ।

माओवादीले पुनर्गठन नगरे समर्थन फिर्ता लिन्छांै भनेका छन् । प्रस्ताव कार्यान्वयन गर्ने कि राजीनामा दिने ?

मैले अन्तिम रूपमा रोज्न पर्ने विकल्प मसँग सुरक्षित छ । तर त्योभन्दा अगाडि मेरा वरिपरि र मुलुकका मुख्य दलले सोच्नुपर्ने कुरा धेरै छन् । हामीले होसियारीपूर्वक अघि बढ्न सकेनौं भने शान्ति र संविधान प्राप्त गर्दैनौं । त्यो प्राप्तिलाई केन्द्रविन्दुमा राखेर निर्णय गर्नुपर्छ । यो पदमा म यिनै दुई काम पूरा गर्नुपर्छ भनेर बसेको छु । यी दुई प्राप्त हुन सक्दैनन् भने म बस्ने औचित्य पनि समाप्त हुन्छ । त्यसैले म पदमा बसिरहनुपर्छ भन्ने त ठान्दै ठान्दिनँ । त्यसबाट मुक्त हुन सक्छु, चाहनेबित्तिकै । तर मुलुकले शान्ति र संविधान पाउन सक्छ कि सक्दैन भन्ने प्रमुख प्रश्न हो । मैले राजीनामा दिए मुलुकले शान्ति र संविधान पाउला ? यो प्रश्न जटिल र चुनौतीपू्र्ण छैन र ?

माओवादीलाई निर्णय पुनर्विचार गर भन्नुको अर्थ फिर्ता लेऊ भन्ने कि अरू विकल्प छन् ?

समस्या आइरहन्छन् । समाधान निकाल्न सकिन्छ । अहिले जटिल परिस्थितिमा समाधानका विकल्प खोजिरहेका छांै । यसबारे प्रेसमा यसरी नै निकाल्ने भनिहाल्ने कुरा भएन । समाधानका उपाय छन् । नेताहरूबीच छलफल हुनुपर्छ र छलफलको केन्द्रविन्दु शान्ति र संविधान हुनुपर्छ । मैले दिने राजीनामाका पछाडि पनि शान्ति र संविधान केन्द्रविन्दुमा हुनुपर्छ, अन्य कुनै सहमतिका लागि पनि शान्ति र संविधानलाई नै केन्द्रमा राख्नुपर्छ ।

माओवादीको प्रस्ताव शान्ति र संविधानलाई सघाउने खालको छ ?

हरेक पार्टीले आत्मकेन्दि्रत भएर सोच्न हुँदैन । राष्ट्रलाई केन्द्रमा राखेर शान्ति र संविधानलाई पूर्णतामा पुर्‍याउन निर्णय गर्नुपर्छ । माओवादीलाई पनि मेरो यही आग्रह छ । कांग्रेसलाई पनि यही अनुरोध छ ।

जसको समर्थनले प्रधानमन्त्री हुनुभयो, त्यही दलले समस्या सिर्जना गर्दा अप्ठ्यारो भएको छैन ?

यो सरकारलाई माओवादीले समर्थन र सहयोग गरेको हो । माओवादीले समर्थन फिर्ता लिन चाह्यो भने मैले तदअनुकूलकै निर्णय गर्नुपर्छ । तर यो सरकार निर्माण गर्दा शान्ति प्रक्रिया र संविधान निर्माणलाई दृढतापूर्वक काम गर्ने समाजिक, आर्थिक रूपान्तरण र राष्ट्रिय स्वाधीनतालाई सदृढ गरेर अघि बढ्ने ४ उद्देश्य राखेर सहमति गरेका थियौं । अहिले आएको प्रस्तावले यी उद्देश्यलाई सृदृढ गर्न सक्छ कि सक्दैन यसलाई माओवादीले गम्भीरतापूर्वक विचार गर्नुपर्छ ।

माओवादीले मन्त्री फेर्न पाउनु आफ्नो अधिकार हो भनिरहेको छ नि ?

संयुक्त सरकारमा सहभागी भएको पार्टीको कस्तो नेता कतिबेर कसलाई सरकारमा पठाउने उसको सार्वभौम अधिकार हो । यसमा म पूर्णरूपमा सहमत छु । तर हामी कस्तो परिप्रेक्ष्यमा यो काम गरिरहेका छौं ? परिपे्रक्ष्यभन्दा अलग रहेर काम गर्न मिल्दैन । हामीले पाँचबुँदे सहमति गरिसक्यौं, अब राष्ट्रिय सहमतिका लागि अघि बढ्नुपर्छ भन्ने विन्दुमा पुगिसक्यौं र सहमतिको सरकार निर्माण गर्ने यात्रामा छौं । तर यी मुद्दा आउँदा विभिन्न क्षेत्रबाट प्रश्न उठाउने आधार दिएको छ । त्यसैले सरकारमा सहभागी दलले गम्भीरतापूर्वक आफूलाई पनि मिल्ने र अरूलाई पनि मिल्ने समाधान के हुन्छ त्यो पहिल्याएर हिँड्नु दूरदर्शिता हुन्छ ।

एमालेले पनि मन्त्रीहरूको शपथ ग्रहण नगराऊ भनेको छ । शान्ति प्रक्रिया अघि बढ्यो भनेचाहिँ शपथ गराउने तपाईंको तयारी हो ?

हाम्रै पार्टीले पनि राटि्रय सहमतिका लागि पहलकदमी गर्ने भन्ने निर्णय गरेको छ । मन्त्रिमण्डलाई पूर्णता दिने/नदिने विषयमा कुनै निर्णय गरेको छैन । स्थायी समिति र वार्ता कमिटीले पनि यी कुरा हेर्दै आएका छन् । यी समस्या संवादबाट सामाधान हुने हुन् । मुख्य मुद्दा शान्ति र संविधान नै हो ।

यी मुख्य मुद्दाको बाधक को ? माओवादी वा सबै दल ?

अरू कसैको चाहिँ भूमिका नै हुँदैन भन्ने

छैन । माओवादीभित्र देखिएको समस्याका कारण शान्ति प्रक्रिया अघि बढ्न नसकेको चाहिँ यथार्थ हो । त्यसैले उहाँहरूले छलफल गरेर समाधानको विन्दु पहिल्याएर आउन खोज्नुभएको छ ।

संविधानसभाको म्याद सकिन एक महिना बाँकी छ । कसरी आशा गर्ने ?

अर्को १४ गते संविधानसभाको बढाएको समय सकिँदै छ । त्यसैले पनि यो एक महिनाका प्रत्येक दिन राष्ट्रिय समस्या समाधानमा लाग्नुपर्ने अवस्था छ । यो छोडेर हामी सरकार तलमाथि गर्ने प्रक्रियामा लाग्यौं भने शान्ति र संविधानको काम ठप्प हुन्छ । त्यसैले अन्य समस्या समाधान गर्ने अन्य तरिका अपनाउँदै सबैले शान्ति र संविधानमै लाग्नुपर्छ भनेको हो ।

यो अवधिमा शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउने आधार र संविधानको पहिलो मस्यौदा निर्माण हुने सम्भावना छ ?

म सम्भावना देख्छु । एक महिनाको समय पनि ठूलो महत्त्वको समय हो । काम गर्नेका लागि लामो समय हो । गतिलो इच्छाशक्ति छ भने एक हप्तामा यी आधार तयार हुन्छन् ।

प्रक्रिया सकिँदानसकिँदै संविधानसभाको म्याद थप्ने नथप्ने भन्ने बहस आउने भयो । तपाईंको धारणा  ?

भदौ १४ मा पनि संविधानसभाको म्याद बढाउनुको कुनै विकल्प छैन । राष्ट्र १२ हात हिँडेर एक बित्तामा अड्कन सक्दैन र अड्काउनु पनि हँुदैन । सबै दलले सोच्नुपर्छ । संविधान निर्माण प्रक्रियामा ८० प्रतिशत काम सकियो । शासकीय स्वरूप र निर्वाचन पद्दतिमा पनि छलफल गरेर सहमति नजिक छ । अब राज्य पुनर्संरचनाको प्रश्न मात्र चुनौतीपूर्ण छ । यसका लागि अलिकति समय लाग्छ । हामीले भदौ १४ सम्म पहिलो खाका मात्र ल्याउन भनेको हो, त्यसपछि समय थप्ने भन्ने स्पष्ट छ । शान्ति प्रक्रियाका सन्दर्भमा रिग्रुपिङसम्म जान सक्छौं । यो प्रक्रिया अघि बढ्यो भने मात्र पनि समायोजनको धेरै निकट पुगिन्छ ।

तपाईंको राजीनामाको माग चर्किरहेको छ, सहमति होला भनेर कसरी पत्याउने ?

त्यसैले त हामीले दूरदर्शिता राख्नुपर्छ । द्वन्द्वहरू जहाँ पनि जारी रहन्छन् । हरेक पार्टीमा हुन्छन्, पार्टीभित्र पनि हुन्छ । द्वन्द्व जहाँ पनि हुन्छ अनावश्यक द्वन्द्वले मात्र समस्या सिर्जना गर्ने हो ।

यसको अर्थ राजीनामाको माग स्वाभाविक हो ?

प्रतिपक्षले आफ्नो धर्म निर्वाह गर्नु स्वाभाविक छ । उसले खेल्नुपर्ने भूमिका खेलिरहेको छ । आजै बिहान पनि मैले प्रमुख प्रतिपक्षका नेतासँग छलफल गरे छलफलबाट शान्ति र संविधान नै केन्द्रमा राखेर सबै अघि बढ्नुपर्छ भन्ने निष्कर्ष निस्केको छ ।

कांग्रेसले राजीनामा नमाग्ने सहमति भएको हो ?

उहाँहरूले प्रतिपक्षको धर्म निर्वाह गर्न कन्जुस्याइँ गर्नुभएको छैन । तर जुनसुकै धर्म निर्वाह गरे पनि राष्ट्रिय विकासको सिलसिलामा समान ढंगबाट अघि बढ्न पछि पर्नु हुँदैन ।

शान्ति, संविधान र सहमतिमा प्रगति नहुँदा प्रधानमन्त्रीका रूपमा अप्ठेरो लाग्ने बेला भएन ?

जतिपटक फन्को मारेर हिँडे पनि एउटा निष्कर्षमा सधैंभरि सहजै ढंगबाट पुग्न सक्छौं, त्यो भनेको राष्ट्रिय सहमति हो । त्यो प्राप्तिका निम्ति हामी सामूहिक रूपबाटै प्रयत्नशील हुनुपर्ने थियो, त्यो हुन सकेन । सरकार बनाउनुको उद्देश्य पनि राष्ट्रिय सहमति हो । त्यो सम्भावना अझै मरेको छैन । यही सरकारलाई पुनर्गठन गरेर पनि राष्ट्रिय सहमति निर्माण गर्न सकिन्छ । कुन व्यक्तिको नेतृत्वमा राष्ट्रिय सहमति बन्छ त्यसका लागि पनि खुला छौं । हामी सबैले शान्ति र संविधानलाई प्राथमिकता दिएर लाग्नुपर्छ ।

यही सरकारालई राष्ट्रिय सहमति दिने हो भने कांग्रेस र अरू मधेसीलगायत दल पनि समावेश हुनुपर्छ । कांग्रेस र माओवादीको नेतृत्व पनि हुन सक्छ । जसको नेतृत्व भए पनि त्यसमा कांग्रेस माओवादीलगायत सबै दल सामेल हुने अवस्था रहनुपर्छ ।

यही अवस्था रहँदा भदौ १४ सम्म पदमा बसिरहने कि छोड्ने ?

निश्चित रूपले म कुर्सी र पदका लागि प्रधानमन्त्री बनेको होइन । मेरो मुख्य उद्देश्य शान्ति र संविधान हो । यसका लागि अनुकूल वातावरण बनाउन मैले निरन्तर प्रयत्न गरे पनि प्रगति हुन सकिरहेको छैन । शान्ति र संविधानका निम्ति कुनै प्रगति हुँदैन र सम्बन्धित सहयोगीहरू त्यो ढंगले अघि बढ्न तयार छैनन् भने त यो पदमा एकै मिनेट पनि बस्ने औचित्य देख्दिनँ । यस्तो अवस्थामा मैले गम्भीर ढंगले निर्णय गर्नैपर्छ । यसै कारणले पनि मैले शान्ति र संविधानलाई प्राथमिकता दिऔं, बाँकी समयलाई पनि भरपुर उपयोग गरौं भनेको हो ।

राष्ट्रिय सहमतिका लागि चक्रीय प्रणालीको प्रस्ताव पनि थियो । विकल्प हुन सक्छ ?

प्रस्तावमा राष्ट्रिय सहमति गर्न एमालेले चक्रीय प्रणाली अघि सारेको हो । यसमा सबै पार्टी सिद्धान्ततः सहमत छन् । तर पहिलो नेतृत्व कसको हुने भन्ने टकरावले त्यत्तिकै रह्यो । अहिले मैले राजीनामा दिनेबित्तिकै राष्ट्रिय सहमतिको सरकार बन्ने कुनै आधार देख्दिनँ, फेरि पनि बहुमतीय सरकार बन्ने स्थिति आयो भने त्यो शान्ति र संविधानका लागि दुर्भाग्यपूर्ण हुन्छ ।

पहिलो चरण तपाईंकै सरकारलाई मानेर जान सहमत हुनुहुन्छ ?

म त चक्रीय प्रणालीको कुनै पनि विकल्प मानेर इतिहासको गति अघि बढाउन चाहन्छु ।

तपाईंलाईर् भारतले नरुचाएको प्रधानमन्त्रीका रूपमा बुझिन्छ । भ्रमण पनि भएन नि ?

त्यस्तो अनौठो केही होइन । भ्रमण जहिले पनि गर्न सकिन्छ । हामी आन्तरिक मामिलामै ध्यान केन्दि्रत गरांै, यहाँसम्म कि उपत्यका छोडेर समेत बाहिर नजाऔं भनेर बसेका हौं । आन्तरिक र घरेलु समस्यालाई उपयुक्त ढंगले समाधान गर्न सकियो भने अन्तर्राष्ट्रिय भ्रमण जहिले पनि गर्न सकिन्छ । तर नेपाल र भारतको सम्बन्ध निरन्तर जारी छ । सहयोग जारी छन् ।

भारतीय सहयोग परियोजनाको अवस्थाबारे तपाईंले विशेष चासो लिएको भन्ने आएको छ, हो ?

मैले सबै सन्दर्भमा जुनजुन मुलुकसँग सहकार्य गर्छौं त्यसलाई कार्यान्वयन गर्न तदारुकता राख्नुपर्छ । भारतीय पक्षबाट कतिपय बेलामा हामीसँग भएका सन्धिसम्झौता लागू गर्ने सवालमा प्रश्न उठ्ने गर्छन् । ती कुरा लागू गर्ने सन्दर्भमा मैले विशेष गरेर भारत र चीनसँग हाम्रा सरसहयोगको प्रक्रियामा गति दिन के भइरहेको छ र के गर्नुपर्छ गरौं भनेको छु ।

माओवादी अध्यक्ष दाहाल पनि रहेको एउटा चिनियाँ संस्थाले लुम्बिनीमा लगानी गर्ने कुरा आइरहेको छ । जानकारी छ ?

नेपालको लुम्बिनी एउटा समान्य ठाउँ होइन । अन्तर्राष्ट्रिय स्थल हो । यसको विकास संरक्षण नेपालको अन्यन्त ठूलो अभिभारा हो र सरकारले ठोस योजना र नीति कार्यक्रम निर्माण नगरी यसको विकास प्रक्रिया अघि बढ्न सक्दैन । कुनै पनि प्रकारका एनजीओ, आईएनजीओले गर्ने गतिविधिले लुम्बिनीको संरक्षण सम्भव छैन । तपाईंहरूले उठाएको कुरा मैले पनि मिडियामा चर्चा भएको सुनेको छु । सरकारलाई त्यसबारे कुनै औपचारिक जानकारी छैन । त्यसैले यी कुरामा टिप्पणी गर्नुपर्ने आवश्यकता ठान्दिनँ ।

सत्तासाझेदार दलको अध्यक्ष नै संलग्न भएको संस्थाले त्यस्तो गर्दा सरकारले चासो त दिनुपर्ने हो नि ?

त्यसबारे आवश्यक परेका बेला नेपाल सरकारले बोल्छ । भएका कुरा बाहिरबाटै अध्ययन भइरहेका छन् ।

गोपाल खनाल र दुर्गा खनाल

कान्तिपुर, श्रावण १५

 
शान्ति र संविधानलाई अर्जुनदृष्टि बनाएर अघि बढेको छु PDF Print E-mail

शान्ति र संविधानलाई मुख्य कार्यभार बनाएर अघि बढेको यो सरकारले हालसम्म के कति सफलता हासिल ग¥यो ?
यो सरकार जुन विन्दुमा बन्यो र जसरी अगाडि बढ्दै छ, यो सरकारका सफलता र असफलताको गणना गर्ने बेलै भएको छैन । तपाईँले यो प्रश्न अलि पछि गर्नुपर्छ । संसारमा एउटा के चलन छ भने कुनै पनि सरकार बनेपछि कमसेकम पनि तीन महिना हनिमुन अवधि हुन्छ । कमसेकम हनिमुन अवधि पार गरिसकेपछि सफलता असफलताको बारेमा विचारविमर्श गर्ने कामको सुरुवात हुन्छ । त्यसैले यो सरकार जुन ध्येय, उद्देश्य बोकेर बनेको छ, जुन सहमति सम्झौताको आधारमा यो खडा भएको छ, ती कुराहरु लिएर अघि बढ्न दृढ प्रतिज्ञाका साथ लागिरहेको छ । स्वभाविक रुपले हामी शान्ति र संविधानको जुन मिसन बोकेर अगाडि बढेका छौँ, त्यो मिसनलाई पूरा गर्छाै ।
अहिलेको चरम संक्रमणकालीन घडीमा सरकारको काम अत्यन्तै महत्वपूर्ण हुन्छ । यस बेलासम्म मन्त्रिपरिषद् विस्तारमा समेत समस्या देखा परिरहेको छ । यो लगायत अन्य कामहरु छिटो छिटो गर्नुपर्ने अवस्था र जनताको अपेक्षामा समस्याको मुख्य जड केलाई महशुस गर्नुभएको छ ?
समग्रतामा हामी ०६२/६३ को ऐतिहासिक र शान्तिपूर्ण जनक्रान्ति जो सम्पन्न भएको छ त्यसले सिर्जना गरेका जुन मूल्य मान्यताहरु छन्, ती कुराहरुलाई संस्थागत गर्ने र सुदृढीकरण गर्ने काम नै अहिलेको हाम्रो मुख्य काम हो । त्यसो गर्नका निम्ति हामीले संक्रमणकालका केही महत्वपूर्ण  चरणहरुलाई पार गरिसकेका छौँ र त्यो संक्रमणकालको हामी अन्तिम चरणमा छौँ । यो अन्तिम चरणमा शान्ति र संविधानलाई केन्द्रबिन्दुमा राखेर हामीले अगाडि बढ्नु पर्छ । यो दुईवटा काम नै यतिबेलाका हाम्रा मुख्य कार्यभार हुन्, राष्ट्रका पनि मुख्य कार्यभार हुन्, सबै राजनीतिक पार्टीहरुका पनि मुख्य कार्यभार हुन् र यो सरकारको पनि मुख्य कार्यभार हो । यसैले म शान्ति र संविधानलाई नै अर्जुनदृष्टि बनाएर अघि बढिरहेको छु र अरु सबै हाम्रा सहकारी दलहरुसँग यसै सन्दर्भमा छलफल गरिरहेका छौँ । यो कुरालाई केन्द्रविन्दुमा राखेर अगाडि बढ्ने कुरा नै हाम्रो चुनौती हो ।
यसभित्र रहेका समस्याहरु के–के हुन् ?
पहिलो कुरा, सात बुँदे सहमतिको जुन मर्म र भावना हामीले अगाडि सारेका छौँ त्यसमा चारवटा मुख्य कुराहरु छन् । शान्ति प्रक्रियालाई टुङ्गगोमा पु¥याउने, संविधान निर्माण गर्ने, मुलुकमा सामाजिक, आर्थिक रुपान्तरणका प्रक्रियालाई अगाडि बढाउने र मुलकको राष्ट्रिय स्वाधिनता, सार्वभौमसत्ता, राष्ट्रिय अखण्डतालाई सुदृढ गर्ने । यी चारवटा मुल मर्म र भावनालाई समेटेर अगाडि बढ्ने पहिलो चुनौती हामी सामु छ । दोस्रो चुनौती, ती मुल मर्म र भावनाका आधारमा हामीले दुईवटा पार्टीबीचको एकतालाई सुदृढ गर्ने, अन्य सबै पार्टीहरुलाई गोलबद्ध गर्ने, एकताबद्ध गर्ने, एउटा राष्ट्रिय सहमतिको निर्माण गर्ने यो हाम्रो दोस्रो चुनौती हुनेछ । तेस्रो चुनौती भनेको ती मुल मर्म र भावनाहरु जुन छन्, त्यसमध्ये पनि शान्ति र संविधानलाई समयमा हामीले पूर्णतामा पु¥याइसक्नुपर्छ । यी दुईटा कार्यभार भित्र पनि सबभन्दा संवेदनशील, जसले सबैलाई छुने छ त्यो कार्यभार भनेको शान्तिको कार्यभार हो । शान्ति प्रक्रियालाई हामीले चाँडो भन्दा चाँडो पूरा गर्नुपर्छ र त्यहाँदेखि अझैँ अर्काे चुनौती भनेको मुलुकको शान्ति सुरक्षा सुव्यवस्थित गर्ने, जनतालाई सुरक्षाको ग्यारेण्टी दिने, र त्यसका साथ साथै अब हामीले कसरी यो मुलुकलाई आर्थिक, सामाजिक रुपान्तरण गर्ने अर्थात मुलुकलाई अब आर्थिक क्रान्तिको दिशातर्फ कसरी अगाडि बढाउने यो अर्काे ठूलो चुनौतीको विषय छ । यिनै चुनौतीहरुका साथ हामी अगाडि बढिरहेका छौँ । चुनौतीहरु कहिले काहीँ हाम्रा कार्यभार समेत बन्छन्, कहिले काहीँ हाम्रा अवसर समेत बन्छन्् । यी कुराहरुलाई ध्यान दिएर हामी अगाडि बढ्छौँ ।
चुनौतीहरुलाई समाधान गर्न सक्छ त यो सरकारले ?
यी चुनौतीहरु समाधान गर्ने उद्देश्य लिएर नै यो सरकार बनेको छ र यो सरकार अहिले विस्तार गर्ने प्रक्रियामा पनि छ, सरकार विस्तार गर्दै जाने सिलसिलामा सरकार शक्तिशाली पनि बन्दैछ र अझैँ विस्तार गर्न आवश्यक छ, त्यो विस्तार गर्ने क्रममा यो सरकार अझैँ सुदृढ जगमा खडा हुन्छ र शान्ति र संविधान पूरा गर्न यो सरकार पूर्ण रुपले सफल हुन्छ ।
मन्त्रिपरिषद् विस्तार कहिलेसम्ममा पूरा हुन्छ ?
म अहिले एकीकृत नेकपा (माओवादी) को निर्णयको प्रतिक्षामा पनि छुँ । माओवादीभित्र जुन बहस, छलफल चलिरहेका छन्, ती सबैका निम्ति सरोकारका विषय हुन्, चासोका विषय हुन् । विशेष गरेर स्थायी समितीको बैठक, पोलिटव्यूरोको बैठक सम्पन्न भएपछि अहिले केन्द्रिय समितीको बैठक चलिरहेको छ, त्यसले के पास गर्छ भनेर अरु सबै पनि हेरिरहेका छन, म पनि हेरिरहेको छुँ र त्यो केन्द्रिय कमिटीको बैठकले निकाल्ने निष्कर्ष मलाई लाग्छ निकै महत्वपूर्ण हुन्छ र त्यसपछि हामी सरकार विस्तार पनि गर्छौँ र सरकारलाई अझैँ सुदृढ जगमा उभ्याउँछौ पनि । अन्य पार्टीहरुसँगको सहकार्यका नयाँ आधार पनि हामीले निर्माण गर्छाैँ  र शान्ति र संविधान दुईवटै प्रक्रियालाई हामी तीव्रतामा लान्छौँ ता कि जेठ १४ ले कुनै संकट नल्याओस् ।
प्रधानमन्त्रीज्यू, माओवादीभित्र शान्ति र संविधान विषयमा बहस भइराखेको छ । नेपाली कांग्रेसले देशव्यापी कार्यक्रम गरिराखेको छ । त्यसले शान्ति र संविधानको प्रक्रियालाई सहयोग वा असहयोग के पु¥याउँछ ?
समग्रतामा हेर्दा अहिले विश्व पनि पुनर्संरचनाको प्रक्रियामा विकसित भइरहेको छ । सिंगो एसिया महाद्विप ठूला उथलपुथलहरुको बीचमा पुनर्गठन हुँदै अगाडि बढिरहेको छ । दक्षिण एसिया क्षेत्रलाई हेर्नुभयो भने त्यो क्षेत्र पनि त्यसरी नै अघि बढिरहेको छ । नेपालको दुईवटा छिमेकीहरुलाई मात्र हेर्नुभयो भने पनि उनिहरु उथलपुथलका साथ परिवर्तन, रुपान्तरण र विकासको दिशातिर अग्रसर छन् । दुईवटा छिमेकीहरु संसारका दुईवटा ठूला शक्तिका रुपमा विकसित हुँदैछन् र हाम्रो आफ्नै देश ठूलो परिवर्तनको प्रक्रियाबाट चलिरहेको छ । त्यसो हुनाले यी परिवर्तनका परिप्रेक्ष्यमा हामीले हाम्रा कार्यभारहरुलाई, हाम्रा दृष्टिकोण र हाम्रा मूल्य मान्यताहरुलाई, हाम्रा कार्यविधिहरुलाई पनि हेर्नुपर्छ । मलाई लाग्छ दुईटा पार्टी बीचको एकतामाथि आधारित भएर हामीले व्यापक आधारको एकता निर्माण गर्ने दिशातर्फ अगाडि बढ्दै जुन कार्यभारहरु यतिबेला हामी लिइरहेका छौँ ती कार्यभारहरु यो राष्ट्रिय र अन्तर्राष्ट्रिय परिपे्रक्ष्यमा अवश्यमेव सफल बनाउँदै अगाडि बढ्न सकिन्छ ।
देशभित्र र बाहिरबाट एउटा शक्ति खुलेरै शान्ति र संविधानको विरुद्धमा लागिरहेको छ । त्यसको प्रभाव कत्तिको पर्ने देख्नुहुन्छ ?
हाम्रो यात्रामा अघि मैले भनेको राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिमा आएको परिवर्तनको एउटा प्रभाव पर्दछ । त्यो परिवर्तनको प्रवाभमा प्रतिगामी शक्ति र अग्रगमनकारी शक्तिका बीचमा तीव्र संघर्ष छ । यो विश्वमा पनि छ, क्षेत्रमा पनि छ, छरछिमेकमा पनि छ अनि देशभित्र पनि छ । त्यो संघर्षको प्रतिविम्ब निश्चित्रुपले यो सरकारको निर्माण प्रक्रियामा तथा सरकारको विस्तार प्रक्रियामा, यो सरकारको संचालन प्रक्रियामा पर्छ, परिरहेको छ तर ती सबै कुराहरुलाई समेत ध्यानमा राखेर नै हामीले मुलुकका लोकतान्त्रिक गणतन्त्रका पक्षधर शक्तिहरुलाई गोलबद्ध गर्दै अगाडि बढ्नुपर्छ र यसमा दुईवटा पार्टी बीचमा जति गहिरो समझदारी बन्छ र जति आत्मीय एकता निर्माण हुन्छ । र, नीतिनिष्ठ र सिद्धान्तनिष्ठ एकता जति फराकिलो बन्नसक्छ, सिंगो मुलुकको अग्रगति र प्रगति त्यसमा निर्भर हुन्छ ।
त्यो एकताले सरकार निर्माणमा त सहयोग पुग्ला तर संविधान बन्न सक्ला ? त्यो अवस्थामा चाहिँ सरकार कसरी अगाडि बढ्छ ?
दुवईटा पार्टीको एकताले निश्चय पनि सरकार मजवुत हुन्छ र सरकारले आफ्ना नीति कार्यक्रमहरु अगाडि सार्दै मुलुकको रुपान्तरणको प्रक्रियालाई अगाडि बढाउन सक्छ तर साझा राष्ट्रिय मुद्दाहरु दुईटा पार्टीको एकताले मात्रै समाधान गर्न सक्दैन । त्यसमाथि पनि अहिले शान्ति र संविधानजस्ता जुन ठूला मुद्दाहरु हामीले समाधान गर्नुछ, यो ठूला मुद्दाहरु समाधान गर्नका निम्ति हामीले अन्य पार्टीहरुलाई पनि गोलवद्ध गर्नुपर्छ । यो वस्तुगत यथार्थलाई बुझेर हामी दुइटै पार्टीहरु एउटा साझा रणनीति बनाएर अगाडि बढ्न सबैलाई गोलबद्ध गर्दै लक्ष्यतर्फ अगाडि बढ्न जरुरी छ ।
एमालेभित्र पनि सरकारको विरोध भइरहेको छ, कांग्रेसले त सरकारलाई पुरै असहयोग गरिरहेको छ । उनीहरुलाई सहमतिमा ल्याउन के गर्नुपर्छ ?
यतिबेला हाम्रो देशमा मुलुकका सबभन्दा ठूला दलहरु यहाँसम्म कि साना दलहरुमा पनि तीव्र अन्तरसंघर्षको श्रृंखला देखापरेको छ । त्यो नेकपा (एमाले) मा पनि छ, एकीकृत नेकपा (माओवादी) मा पनि छ, नेपाली कांग्रेसमा पनि छ, मधेशवादी दलमा पनि छ  र साना पार्टीहरुमा पनि उथलपुथल देखिन्छ । वास्तवमा यो के कारण हो ? यो सबैले खोजी गर्ने एउटा विषय हो । के विभिन्न पार्टीहरुभित्र रहेका कमिकमजोरी मात्र यसमा जिम्मेवार छन् ? अथवा नेतृत्व पंक्तिमा रहेका नेताहरुमा मात्रै यो कमजोरी छ कि, अरु कुनै चिजको प्रतिविम्ब हो ? यसलाई बलियो गरी विश्लेषण र संश्लेषण गर्नु जरुरी हुन्छ । मलाई के लाग्छ भने यो तीव्ररुपले बदलिरहेको जुन संक्रमणशील परिस्थिति छ, यो संक्रमणकालीन परिस्थितिको प्रतिविम्व हो । मुलुकमा पुरानोलाई हामी विदाई गर्दैछौँ र नयाँलाई स्थापित गर्दैछौँ । नयाँ र पुरानाका बीचमा तीव्र संघर्ष छ । यसको प्रतिविम्व प्रत्येक पार्टीभित्र परेको छ र त्यो पार्टीभित्र परेको अन्तरसंघर्षका कारणहरुलाई विश्लेषण नगरिनु नै कतिपय पार्टीहरुभित्र आपसी अन्तरद्वन्द्वले बढ्ता कटुताको रुप लिएको देखिन्छ । मेरो चाहीँ यस सन्दर्भमा के धारणा छ भने सबै पार्टीहरुले, मैले मेरो पार्टीमा पनि र अरु नेताहरुले आ–आफ्ना पार्टीहरुमा पनि यी अन्तरद्वन्द्वलाई वैज्ञानिक ढंगले व्यवस्थापन गर्न ध्यान दिनुपर्छ र आन्तरिक रुपले व्यवस्थापन गर्दै पार्टीहरुलाई सुदृढ गर्नुपर्छ किनभने पार्टी सुदृढ भएन भने लोकतन्त्र सुदृढ हुनसक्दैन । लोकतन्त्रका संवाहक शक्तिहरु नै दलहरु हुन् । दलहरु सुदृढ भएनन्, एकताबद्ध भएनन्, गतिशील भएनन्, लोकतान्त्रिक मुल्य मान्यतामा ती भएनन् भने मुलुकको लोकतन्त्र पनि टिकाउ हुन सक्दैन ।  
नेपाली कांग्रेस यो सरकारमा सहभागी हुने कहीँ कतै सम्भावना देखिन्छ ?
हामी दुईटै पार्टीहरुले एउटा दृष्टिकोण निर्माण गरेर नेपाली कांग्रेसलाई सामेल गर्न खोज्यौँ भने त्यो असम्भव छ भन्ने मलाई लाग्दैन, त्यो पनि सम्भावना छ तर त्यसका निम्ति हामीले आधारहरु निर्माण गर्नुपर्छ र अलि मेहनत गरेर लैजान सक्नुपर्छ ।
अन्त्यमा, जेठ १४ नजिकिएको छ । एक महिना मात्र बाँकि छ । संविधान बन्ने अनिश्चित छ, जनतामा अन्यौलता र आशंका छाइरहेको छ कि जेठ १४ र वरपर राजनीतिक घटनाक्रमहरु कसरी अगाडि बढ्छन्, जतिबेला वैधानिक बाटो पनि अन्त्य हुँदैछ । यस्तो स्थितिमा देशवासीलाई के भनेर आश्वस्त तुल्याउनु हुन्छ ?
पोहार साल पनि जेठ १४ गते आउँदा एउटा अन्यौल र दिशाहिनताको परिस्थिति सिर्जना भएको थियो । जेठ १४ पछि भयंकर ठूलो दुर्घटना हुनसक्छ । आकाशै खसी हाल्ने पो हो कि भन्ने खालको जुन मानिसहरुमा डर, त्रास पैदा भएको थियो तर हामीले यो देशमा ठूलाठूला उथलपुथलकारी र वबण्डरपूर्ण परिवर्तनका श्रृंखलाहरु पनि मुलुकका राजनीतिक पार्टीहरुको सहमतिका साथ ल्याएका छौँ  र जेठ १४ हामीले त्यही परिप्रेक्ष्यमा हेर्नुपर्छ । जेठ १४ हाम्रो निम्ति अवसर पनि लिएर आइरहेको छ, संकट पनि लिएर आइरहेको छ । हामीले निष्ठापूर्वक, जिम्मेदारीपुर्वक वैज्ञानिक रुपले हाम्रा काँधमा रहेका उत्तरदायित्वहरुलाई बुझ्न सक्यौँ भने शान्ति र संविधानका प्रक्रियालाई यथोचित रुपले हामीले अगाडि बढाउँदै गयौँ भने जेठ १४ सहज ढंगले नै व्यवस्थित हुन्छ तर हामीले ती कामहरु नगरीकन चुपचाप बस्यौँ, अल्मिलिएर बस्यौँ, गर्नुपर्ने काम पनि गरेनौ र त्यत्तिकै जेठ १४ आइपुग्यो भने हाम्रा निम्ति संकटको घडी पनि आउन सक्छ । त्यसो हुनाले अहिले मुख्य गरेर जिम्मेवार तीनटा पार्टीहरुले शान्ति प्रक्रिया र संविधान निर्माणको प्रक्रियालाई अझैँ अगाडि बढाउनको लागि, ठोस रुपले अगाडि बढाउनको लागि मेहनतपूर्वक लाग्नुपर्छ । मेहनतपूर्वक लाग्ने कुरा गरियो भने नेपाली जनताले हामीलाई कति समय पुग्दैन त्यो थपेर सहमति साथ समाधान गर भन्नेछन् र जेठ १४ को संकट सहजै टर्नेछ ।
–रमेश गुरागाँई
समाचार पाक्षिक
, प्रथम अंक
१६ बैशाख २०६८
 
सेनाको अवधारणमा सहमति हुन सक्छ PDF Print E-mail
लोकतन्त्र दिवसको मनाइरहेका छौं । पाँच वर्ष अघि जनताले जे चाहेर दलहरूलाई साथ दिएका थिए । त्यो चाहना पुरा गर्ने दिशामा राजनीति अघि बढेको छ ?
जनआन्दोलन जुन उद्देश्यकासाथ गरेका थियौं मुलुक त्यही दिशामा अघि बढ्दैछ ।  २०६२/६३ को जनक्रान्तिले मुलुकको राजनीति समाजिक क्षेत्रमा परिवर्तन गरेको छ । अब आर्थिक क्रान्तिको लागि पूर्वाधार बनाउनुपर्छ । शान्ति प्रक्रियालाई पूर्णता दिने र संविधान निर्माण गर्ने बाटो अघि बढ्दैछ । बाटो बाङ्गोटिङ्गो छ तर क्रमश यो सकारात्मक दिशातर्फ अघि बढिरहेको छ । आधारभूत रूपमा जनआन्दोलनले परिलक्षित गरेकै दिशामा छौं ।

जनआन्दोलनकारी शक्तिहरू नै विभाजित हुँदैछन् र परास्त शक्ति विभिन्न ढंगमा टाउको उठाउँदैछन् । कसरी सहि दिशामा छौं भन्नुहुन्छ ?
हामी लोकतन्त्र दिवस मनाइरहेका छौं । लोकतन्त्रका संवाहक शक्तिहरू राजनीतिक पार्टीहरू हुन् भन्ने बुझ्नु पर्छ । दलहरू लोकतान्त्रिक मूल्य मान्यता र आचारण अनुसार चलिरहेका छन् कि छैनन् भन्ने चाही विचार गर्नुपर्ने प्रश्न छ । अहिले नेपालको राष्ट्रिय राजनीतिक परिप्रेक्ष्यमा सबै दलहरूबीच अन्तरद्वन्द्वको चक्र चलिरहेको देखिन्छ । यो चक्रलाई बैज्ञानिक ढंगले व्यवस्थित गर्नुपर्छ । यो मामिलामा म पनि लागिरहेको छु र अरू पार्टीका नेताहरू पनि सचेत हुनुपर्छ । बिग्रिने नै विन्दुमा त पुगेका छैन तर मुख्य पार्टीहरूबीचमा देखापरेका अन्तरद्वन्द्वले पनि संक्रमणकाल लम्बाउन भूमिका खेलेका छन् । संक्रमणकाल छोट्याउने हो भने आन्तरिक व्यवस्थापनलाई बैज्ञानिक ढंगले सम्पादन गर्दै शान्ति प्रक्रिया र संविधान निर्माणलाई टुङ्गोमा पु-याउने दिशामा लाग्नुपर्छ ।

त्यसको शुरूवात कसले कहाँबाट गर्ने ?
यो प्रमुख राजनीतिक दलहरूले नै गर्ने हो । सबैभन्दा ठूलो दल र सरकारले सामूहिक रूपमा गर्ने हो । शान्ति प्रक्रिया टुङ्गोमा पु¥याउन विशेष समिति र कार्यदल क्रियाशील छ । राजनीतिक पार्टीहरू पनि त्यसलाई आवश्यक ‘इनपुट’ लिंदै समस्या समाधानको दिशातर्फ अग्रसर छन् । औपचारिक र अनौपचारिक वार्ताहरूले क्रमशः शान्ति प्रक्रिया टुङ्गो लगाउने दिशामा प्रगति हुँदैछन् ।

प्रधानमन्त्री भएको झण्डै अढाई महिना भयो तर तपाईको काम सा-है सुस्त छ ? अनि आफ्ना अडानबाट पनि पछि हटेजस्तो देखिन्छ नी ?
हाम्रो समाजको विकासको जुन स्तरबाट गुज्रँदैछ त्यसमा एउटा मनोवृत्तिले काम गरेको हुन्छ । त्यो भनेको ‘तातै खाउँ जल्दै मरौं’ भन्ने छ । चाँडो चाँडो परिणाम र प्रतिफल चाहिन्छ भन्ने मनस्थित छ । तर कहिलेकाहीं प्रक्रियाहरू हामीले अपेक्षा गरे अनुसरको गतिमा मात्र विकसित हुँदैनन् । बाङ्गोटिङ्गो ढंगबाट पनि विकसित हुँदा रहेछन् । हामी सामाजिक परिवर्तन र रुपान्तरणको मात्र होइन द्वन्द्व व्यवस्थापन र रूपान्तरणको प्रक्रियामा छौं । त्यसैले यी दुईटै प्रक्रिया एक साथ अघि बढ्दैछन् भन्ने भुल्नु हुँदैन । शुरू कालखण्डमा तिब्र भयो अहिलेको कालखण्डमा केही ढिलो जस्तो छ । मेरो नेतृत्वमा सरकार बनेपछि चाँडो चाँडो हुन्छ भन्ने अपेक्षा गरेको थिएँ । तर ती प्रक्रियाका आफ्नै आधारभूत र वस्तुगत प्र्रक्रियाहरू आफ्नो ठाउँमा थिए ती विस्तारै विकसित हुँदैछन् । सकारात्मक दिशामा नै अघि बढ्दैछन् । यहाँ अंग्रेजी स्लोजन ‘स्लो एण्ड स्टीडी विन्स् द रेस’ भन्ने सम्झिनु पर्छ ।

तपाईको सुरूवात पनि त्यति सकारात्मक छैन । सेना समायोजनको क्यालेण्डर ल्याउने भन्ने थियो । त्यो पनि भएन । किन ?
शान्ति प्रक्रियालाई जुन गतिका साथ अघि बढाउनुपर्ने थियो त्यसमा मन्दता पैदा भएको सा“चो हो । तर पनि चुप्प बसेको छैन । क्रमशः अघि बढाउने काम भइरहेका छन् । राजनीतिक क्षेत्र आफैं नतात्तिकन र क्रियाशील नभइकन यी समस्याहरूको समाधान हुन सक्दैनन् । पछिल्लो समयमा राजनीतिक तहमा शान्ति प्रक्रिया छिटो पुरा हुनुपर्छ भन्ने हुटहुटी बढेको छ । र निकासमा पुग्नुपर्छ भन्ने प्रतिबद्घता पनि प्रकट हुन थालेका छन् । यी सकारात्मक लक्षणले एउटा निकासमा पु-याउँछ भन्नेमा म विश्वस्त छ ।

यति दिनभित्र क्यालेण्डर सार्वजनिक हुन्छ भन्ने कुनै निश्चित गर्न सक्नुहुन्छ ?
विशेष समिति अन्तर्गत एउटा कार्यदल बनेको छ । मोडालिटी, मापदण्ड, संख्या तय गर्ने, पुनःस्थापनाको प्याकेजको अवधारणा र कार्यतालिका गरी पाँच वटा विषयमा अवधारणा बनाउने जिम्मेवारी दिएका छौं र छलफल पनि चलिरहेका छन् । ती मध्ये मोडालिटी र मापदण्ड महत्वपूर्ण कुरा हुन् । मोडालिटीमा लामो समय बहस चलिरहेको छ । पछिल्लो समयमा मोडालिटीको विषयमा धारणाहरू निकट देखिएका छन् । मोडालिटीमा कुरा मिलेपछि अरू सबै मिल्छन् र शान्ति प्रक्रियालाई पूर्णता दिन सक्छौं ।

यी काम जेठ १४ अघि नै हुन्छन् ?
जेठ १४ अघि नै अर्थात् केही हप्ता भित्रै हुन्छन् । ताकी जेठ १४ मा मानिसहरूले जुन संकटको परिकल्पना गरेका छन् त्यो आधार नै समाप्त हुन्छ । हामी यथाशिघ्र आधारभूत रूपले नयाँ दिशा दिन प्रयत्न गरिरहेका छौं ।

माओवादी अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्र शान्ति र संविधानको कार्यदिशा पेश गरेका छन् । दाहालले लिएको बाटोसँग तपाई केही आशावादी देखिनु भएको हो ?
यो दुई पार्टीबीचमा भएको सात बु“दे सहमतिको स्परिटको कुरा हो । शान्तिप्रक्रियालाई पूर्णता दिने, संविधान निर्माणमा अघि बढ्ने, सामाजिक आर्थिक रुपान्तरण सहित जनताका गाँस, वास, कपासका समस्या सम्बोधन गर्नैपर्ने र मुलुकको राष्ट्रिय स्वाधिनतालाई सदृण गर्नुपर्छ भन्ने सात बुँदे सहमतिका मर्म हुन् । तीन मर्मको आधारमा दुईटा पार्टी र पार्टीमा पनि सहमति गर्न खोजेका छौं । त्यही सिलसिलामा माओवादी आफैंमा शान्ति प्रक्रियालाई पूर्णता दिने विषयमा  छलफलमा छ । त्यसैले पनि शान्ति प्रक्रिया पूर्णता दिने कुरामा सकारात्मक दिशामा अघि बढ्छ भन्ने विश्वास गर्न सकिन्छ ।

सेनाले पनि समायोजना सम्बन्धी एउटा प्रस्ताव अघि सारेको छ, यो प्रस्ताव  कस्तो छ ?
हामीले एउटा अवधारणामा छलफलका क्रममा छौं । त्यो अवधारणामा नेपाली सेना पनि सहमत छ । त्यो अवधारणा मूलत सबैको हित र आकांक्षाहरूलाई ध्यानमा राख्दै निर्माण गरिएको छ । यो कसले बनायो भन्ने विवादमा जान जरूरी छैन । जुन अवधारणाको कुरा भइरहेको छ त्यसमा मुख्य राजनीतिक दलहरू, सेना सरकार सबै निकट छन् । त्यसैले हामी सहमतितर्फ पुग्ने सम्भावना छ ।

तर मोडालिटीबारे सबै दलहरूबीच औपचारिक छलफल भएको छैन । त्यसैले जेठ १४ अघि नै सहमति बन्ने सम्भावना छ त ?
सहमति निर्माण गर्ने काम जेठ १४ अघि नै हुनुपर्छ र अगाडी नै हुने सम्भावना प्रवल छ । म क्रियाशील छु । माओवादी अध्यक्षलाई पनि भनेको छु उहाँ सहमत हुनुहुन्छ । केही हप्ता भित्रमा हामी एउटा सेना समायोजनसँग सम्बन्धित ठोस निष्कर्षमा पुग्छौं । त्यसले अरू धेरै कुरालाई सकारात्मक ढंगले अघि बढाउने सहयोग पुग्छ ।

जेठ १४ मा संविधान जारी हुने सम्भावना अब ट-यो ? त्यसपछि के हुन्छ ?
संविधान निर्माण गर्ने कुरा अत्यन्तै दुरगामी महत्व राख्ने काम हो । यसलाई सम्पादन गर्ने सिलसिलामा महत्वपूर्ण काम पुरा गरिसकेका छौं । अब शासकीय स्वरुप, निर्वाचन प्रणाली र राज्य पुनःसंरचना कसरी गर्ने भन्ने सवाल बाँकी छन् । यी सवालमा गम्भिरतापूर्वक बहस गरिरहेका छौं । शासकीय स्वरूप र निर्वाचन प्रणालीका विषयमा हामी छोटो समयमा पनि सहमति पुग्न सक्छौं त्यसमा गा-हो छैन । यति मात्रै कुरा हुने हो भने पनि संविधानको खाका बन्ने आधार तयार हुन्थ्यो । राज्य पुनःसंरचनाको सवाल अलिक बढी संवेदनशील र गा-हो छ । त्यसैले यसलाई अलिक बढी प्राज्ञिक, प्राविधिक र बैज्ञानिक ढंगले हेरिनु र अध्ययन र विश्लेषण गर्नुपर्ने विषयवस्तु हो । यो विषयलाई कसरी हल गर्ने भन्नेमा दलका राजनेतहरूले गम्भिरतापूर्वक सोच्नुपर्छ र समाधानको उपयुक्त तरिका र प्रक्रिया निकाल्नुपर्छ । अहिलेसम्मको प्रक्रिया हेर्दा यो मुद्दाले अलिकति समय लिन्छ । हामी लाग्ने हो भने जेठ १४ मा नयाँ संविधानको खाका वा मस्यौदा चाहीं पक्का तय गर्न सक्छौं । त्यसलाई घोषणा, पारित गर्ने लगायतमा समय नपुग्ने हो कि भन्ने आशंका चाहीं छ ।

त्यसको अर्थ जेठ १४ मा संविधानको केही खाका स्वरुप चाहीं दिने र बाँकी रहेको विषयलाई पछि समेट्ने भन्ने हो ?
हामीले एकदमै निष्ठापूर्वक मेहनत र जिम्मेवारीपूर्वक काममा लाग्नुपर्छ । प्रधानमन्त्री त्यही हिसाबले काम गर्छ । अरूले पनि त्यसरी नै गर्नुपर्छ । अड्काउने, पड्काउने र भड्काउने तीनवटै काम कसैले गर्नुहुँदैन । मुलुक र जनताप्रति जिम्मेवारी भएर शान्ति र संविधान निर्माण गर्ने सर्वोपरि कार्य हाम्रा साझा कार्य हुने भन्ने ढंगले लाग्नुपर्छ । यसो गरिरहँदा जेठमा १४ पुग्दा केही काम भ्याएनौं भने ती काम कसरी गर्ने भन्नेमा संकट नै उत्पन्न हुँदैन । समय लगायतको समस्या समाधान गर्न सक्छौं । अझ मैले भने जसरी अघि बढ्ने हो भने जेठ १४ भित्रै सबै काम टुङ्गो लाग्न सक्ने सम्भावना पनि अन्त्य भएको छैन । हामीले पूर्ण संविधानको खाका तय गर्न सक्यौं भने पनि त्यो राष्ट्रका लागि ठूलो उपलब्धी हुन्छ । घोषणा गर्ने प्रक्रिया जनताका धारणा समेट्ने विषयलाई कसरी गर्ने भन्ने त पछि सहमतिमा मिलाउन सकिन्छ ।

जेठ १४ भित्र केही न केही दिनुपर्छ भन्ने प्रधानमन्त्रीको चाहना हो ?
जेठा १४ भित्र शान्ति र संविधान दुबै कुरामा महत्वपूर्ण र आधारभूत अग्रगति हुनै पर्छ । यो मेरो प्रतिबद्घता हो यसरी नै अरूसँग कुरा गरिरहेको छु ।

जेठ १४ पछि भयानक दुर्घटना वा विभिन्न विकल्पमा जाने खालका शंका राजनीति बृत्तबाटै आइरहेका छन् नी त ? परिस्थिति त्यस्तै भयावह हुने वा  बनाउन खोजिएको हो ?
हामी प्रमुख पार्टीहरूले गर्नुपर्ने काम गरेनौं र अन्तरद्वन्द्वमै बसिरह्यौं भने जेठ १४ संकटको सिमा पनि हुन सक्छ । तर जिम्मेवारीपूर्वक अगाडी बढ्यौं र निष्ठापूर्वक लाग्यौ भने अग्रगतिमा पुग्ने महत्वपूर्ण ठाउँमा आइपुगेका छौं । त्यो अग्रगति गर्न सकियो भने भयावह चित्रको परिकल्पना गरेका छन् शान्ति प्रक्रिया पुरा नहोस् संविधान नबनोस् र उथलपुथल परिस्थितिबाट सत्ता हासिल गर्न सकियोस् भन्ने मनसाय राखेका छन् तीनको अभिष्ट पुरा हुँदैन । लोकतान्त्रिक गणतन्त्रका शक्तिहरू एक ठाउँमा हुँदा कुनै संकट आउँदैन ।

लोकतान्त्रिक शक्ति भित्र त कांग्रेस पनि पर्छ होला । तर उसलाई सरकारमा ल्याउने  वा उसको समर्थन जुटाउन पहल चाहीं खै त ?
विभिन्न पार्टीहरू भित्र आफ्ना आफ्नै हिउ“का ढिस्का छन् । ती ढिस्काहरू पग्लँदै छन् । सत्तामा पनि हामी सहमति साथ नै पुगौं र काम पनि सहमति साथ नै गरौं भन्ने हो । सत्तामै सहमतिका साथ जान सकिंदैन भने कम्तिमा पनि शान्ति र संविधानमा चाहीं सहमतिका साथ जानैपर्छ । त्यसमा कसैले वाधा व्यवधान गर्न मिल्दैन । त्यसैले म मेरो तर्फबाट अनुकुल मैत्रिपूर्ण वातावरण निर्माण गर्न के गर्नुपर्छ तयार छु । तर शान्ति र संविधान निर्माण पूर्णता पु-याउनै पर्छ ।

राष्ट्रिय सहमतिका कांग्रेसलाई ल्याउन तपाईले अहिलेसम्म के गर्नुभयो ?
अहिले पनि शान्ति प्रक्रिया अघि बढाउने सवालमा अघि भनेका पाँच कुरामा छलफल भइरहेको छ । संविधान निर्माणको सन्दर्भमा लगातर अघि बढिरहेकै छौं । संवैधानिक समितिमा उपसमिति मार्फत् काम भइरहेको छ । केहीले अवरोध गरेका छन् तर त्यसको अन्तर्य के हो र सम्भव हुने मागहरूलाई सम्बोधन गर्दै संवैधानिक समिति भित्रबाट नयाँ निकास दिने पहल गरिरहेका छौं । शान्ति र संविधान दुबै प्रक्रिया ठप्प चाहीं छैन । तर यत्ति हो कि जनताले अपेक्षा गरे अनुसार दिनहुँ झ्याप्प झ्याप्प निर्णय चाहीं नभएको मात्र हो । यो तीन चार हप्ताको समयमा राजनीतिक दल छलफल गरेर नयाँ निष्कर्ष ननिकाली नहुने अवस्था छ ।

तपाई यत्ति महत्वपूर्ण समय सरकारलाई पूर्णता दिन नसकेर अल्झिइरहनु भएको छ, सरकारमा आउन लागेको पार्टीलाई समेत समेट्न सक्नु भएको छैन । कसरी विश्वास गर्ने ?
पहिलो कुरा मन्त्रिपरिषद विस्तार भइसकेको छ । मन्त्रिपरिषद्लाई निर्णय गर्नमा  बाधा महसुस भएको छैन । निरन्तर बैठक भइरहेका छन् । विभिन्न दललाई समेट्ने प्रयास पनि जारी राखेका छौं । पूर्णता भन्ने शब्दको सिमा के हो भन्ने प्रश्न पनि  उठ्न सक्छ । तर हामी सरकारलाई विस्तार गर्ने प्रक्रियामा छौं । तेस्रो पटक भयो चौथो पाँचौहुँदै केही विस्तारका क्रम अझै चल्छन् । यसले त्यस्तो कुनै ठूलो वाधा व्यवधान पु-याएको छैन । आउँछौं भनेका दल आफ्ना आन्तरिक समस्यालाई व्यवस्थापन गर्दैछन् । त्यो प्रक्रिया पुरा भएपछि आउँछन् मैले यथासक्य छिटो आउनु भनेको छु ।

गृह मन्त्रालयसम्बन्धी विवाद यथार्थ के हो ? शान्ति प्रक्रियाका काम पुरा भएपछि मात्र माओवादीलाई दिने भनेको हो कि अहिले नै दिने हो ?
शान्ति र संविधानभन्दा अरू विषय प्रमुख बन्न सक्दैन । कुनै पनि विषय अहिले प्राथमिक बन्नै सक्दैन । त्यो शर्तका कारण शान्ति र संविधान रोकिनै सक्दैन । त्यसैले गृह वा अन्य मन्त्रालयको कुरा ठूला कुरा होइनन् दलहरू बसेर छलफल गर्दा व्यवस्थापन हुन्छन् ।
सरकारमा नियमित काम चलिरहेका छन् भन्नु भएको छ, अर्थसचिव छैनन्, अन्य निकायहरूको काम पनि ठिक ढंगले चलेका छैनन् नी ।
सचिवहरूको बारेमा चाँडो टुङ्गो गर्नुपर्ने अवस्था छ । हालै नया“ सचिव पनि आउनु भएको छ । जहाँसम्म बजेट निर्माण गर्ने कुरा छ । अर्थमन्त्रालयमा दुई जना सचिव हुन्छन् । एक जना हुनुहुन्छ उहाँमार्फत् काम गर्न सकिन्छ । अर्थमन्त्रीले सबैसँग छलफल गरेर बजेट निर्माण गर्ने काम तिब्रताका साथ गरिरहनुभएको छ । संसदको अधिवेशन अन्त्य भएको छ । अब बजेट अधिवेशनको आह्वान हुन्छ । बजेट बढी जनमुखी हुन्छ । एकदम वितरणकारी बजेट हुन्छ भन्ने आशंका छ त्यस्तो होइन । हामी २०६२/६३ का जनक्रान्तिका जनचाहनाहरूलाई सम्बोधन गर्नै र देशका आवश्यकतामा ध्यान दिएर कसरी आर्थिक क्रान्तिको रूपरेखा तयार गर्ने खालको बजेट बन्छ ।

इमान्दार सचिवल छाडे, विवादास्पद अर्थराज्यमन्त्री बनाउने र अर्थमन्त्रीकै कामकारवाही पनि त्यत्ति सन्तोषप्रद नहुँदा तपाईको आफ्नो कार्यशैली ठिक नभएको जस्तो महसुस हुँदैन ?
मलाई त्यस्तो लाग्दैन कुनै पनि नयाँ अर्थमन्त्री आएपछि उसले कस्तो आर्थिक सोच र भिजनका आधारमा अघि बढ्ने त्यो कुरा सोच्छ । आफू मातहतका कर्मचारी सँगै छलफल गर्छ । छलफलका क्रममा कतिपय कर्मचारीसँग मत मिल्न सक्छ । कतिपयमा नमिल्न पनि सक्छ । मत मिले राम्रै भयो, मत नमिले नमिलेका मतहरूलाई तरिका र विधिमार्फत् हल गर्नुपर्छ । अर्थतन्त्र मात्र होइन सिङ्गो मुलुक संकटमा छ जुनबेलामा हामी संकटको सामना गरिरहेका हुन्छौं त्यो बेलामा उत्तरदायित्वबाट पन्छिन राम्रो हुन्छ र ? राम्रो हुँदैन । बसेर जिम्मेवारी लिएर  छलफल गर्ने सहयोग गर्ने तरिका अपनाउनु पर्छ । रामेश्वर खनाल एउटा सक्षम राष्ट्रसेवक हो तर उहाँले जुन अवस्थामा जुन कारण देखाएर राजीनामा दिनुभयो त्यसप्रति मलाई दुःख लागेको छ ।

अब प्रसँग बदलौं । तपाई प्रधानमन्त्री भए यता तपाईको सरकार र भारतबीचको सम्बन्ध कसरी अगाडी बढिरहेको छ ?
नेपाल विश्व र एशियाको अन्त्यन्त महत्वपूर्ण सामरिक महत्वको विन्दुमा छ । यो देशमा दुईटा मात्र बोर्डर छिमेकी मुलुक छन् । यी दुबै छिमेकी विश्वका उदीयमान शक्तिका रूपमा विकसित हुँदैछन् । यस प्रकारका छिमेकीहरू नेपालले पाउने गौरवको कुरा हो । दुबै छिमेकीहरूसँग आजको युग अनुकुल सम्बन्ध कामय गर्न अन्त्यत गम्भिरतापूर्पक र होसियार भएर अघि बढ्नुपर्छ । नेपाल दुबै मुलुकसँग  घनिष्ट छ  । दुबैसँग ऐतिहासिक सम्बन्ध छन् । ती सम्बन्धहरू मार्फत् नेपालको नेपाली जनताको अग्रगति प्रगतिको लागि अघि बढ्नु कुनै पनि नेताको कर्तव्य हो । एउटा छिमेकीसँग ढल्किने र अर्कोसँग अन्यथा सम्बन्ध राख्ने नेपाल र नेपालीको हितमा छैन म र मेरो सरकार छिमेकी दुबै मित्रहरूसँग घनिष्ट प्रगाढ सम्बन्ध सहित आपसी सहयोगहरू बढाउने नेपालको विकास र परिवर्तन र रुपान्तरणको आफ्नै बाटो निर्माण गर्ने र त्यो दिशामा अघि बढाउने कुरा दृढतापूर्वक लागेको छ ।

भारतीय विदेश मन्त्रीको भ्रमण भयो के कुराकानी गर्नुभयो ?
भारतका विदेशमन्त्री नेपाल आउनुभयो सौहाद्रपूर्ण वातावरणमा छलफल भयो दुई देशको ऐतिहासिक सम्बन्ध सहयोगका बहुआयामिक क्षेत्रहरू र ती क्षेत्रमा प्राप्त गरेका उपलब्धी र सम्बन्धहरूमा देखापरेका चुनौति र सम्भावनामा कुरा भए । म जुन दिन प्रधानमन्त्री निर्वाचित भएको थिएँ त्यही दिन भारतका महामहिम प्रधानमन्त्री मनमोहन सिंहले फोन गरी बधाई मात्र होइन भ्रमणको निम्तो दिनु भएको थियो । त्यही निम्तोलाई साकार पार्न पनि विदेशमन्त्रीको भ्रमण भएको छ । म भारत भ्रमणमा जाने तयारी गर्दैछु ।

तपाईको पहिलो राजनीतिक भ्रमण नै भारतबाट गर्न लाग्नुभयो, हैन ?
मैले अन्तर्राष्ट्रिय सम्बन्धमा संचालनमा पहिलो दोस्रो तेस्रोको त्यत्ति महत्व देख्दिन । म आवश्यकतानुसार अन्तर्राष्ट्रिय भ्रमण गर्छु । राष्ट्रको भावनालाई प्रतिविम्बित गर्नुछ ।

विदेशमन्त्रीले सुरक्षा चासोको मुद्दा उठाए भन्नेछ । कस्ता चासो हुन् ?
के कुरा स्वाभाविक छ भने नेपाल शान्ति प्रक्रियालाई पूर्णता दिने क्रममा छ । नेपालमा हिंसात्मक घटना पनि भएका छन् । नेपाल र भारतबीच लामो खुल्ला सिमाना छ । त्यो सिमानाबाट हाम्रो प्राण वायूमात्र आउँदैन, त्यहाँबाट झिंगा र लामखुट्टे पनि आउ“छन् । ती झिंगा र लामखुट्टेलाई कसरी व्यवस्थित गर्ने भन्ने नेपाल र भारत दुबैको समस्या हो । यो विषयमा भारत र नेपाल दुबै उत्तिकै चिन्तित छन् । यो कुरा कृष्णाले पनि उठाउनु भएको थियो । मैले नेपालको भूमि कुनै पनि छिमेकी विरुद्घ प्रयोग हुन दिन्नौं भन्ने प्रतिबद्धता जनाएको छु । त्यसो गर्नका लागि हामीले राष्ट्रिय सुरक्षा प्रणालीलाई सुदृढ र मजबुत हुनुपर्छ । खुल्ल्ला सिमाना व्यवस्थित गर्नुपर्छ भन्नेमा गहिरो समझदारी हुनुपर्छ । दुई देशका सुरक्षाकर्मीबीच उपयुक्त किसिमका सहकार्य समझदारी हुनुपर्छ यसरी सुरक्षा चुनौति सम्बोधन हुन सक्छ ।

भारतीय लगानीमा संचालित युटिएलको राजस्व सम्बन्धी विषयमा नेपाल सरकारले मिनाहा गरिदिने सहमति भयो भन्ने आएको छ । के हो वास्तविकता ?
आजको दुनियाँ खुल्ला छ । हाम्रो देशले विश्वका कुनै पनि देशलाई लगानी खुल्ला गरेको छ । तर सबैले एउटा नियम पालना गरेर जानुपर्छ । मुलुकलाई तिर्नैपर्ने राजस्व मिनाहा गरेर मुलुक चाहीं केले चलाउनु हुन्छ ? मेरो प्रश्न छ । तर युटिएलका समस्याहरलाई हामीले दुबै पक्षमा हित पुग्ने गरी समाधान गर्छौं भनेका छौं ।

एमाले भित्र तपाईको विरोध भइरहेको छ । केही नेताले अब हिसाबकिताव गर्ने समेत बताएका छन् । समस्या परेको हो ?
हामी यो देशलाई समुन्नत लोकतन्त्रमा पु-याउन चाहन्छौं । त्यसका निम्ति २०६२/६३ को जनक्रान्ति गरेका हौ । त्यसले पार्टी संगठित होस् बाहिर जो कसैलाई मौलिक हक दिएको छ । त्यो मौलिक हकको प्रयोग हामीले कसरी प्रयोग गर्छौं यो प्रश्न सबैका अगाडी झुण्डिएको हुन्छ । हामीले त्यसलाई सकारात्मक नकारात्मक ढंगले प्रयोग गर्ने त्यो प्रत्येक नेता, राजनेताको लागि पनि प्रश्न हो । म कसैले केही कुरा भन्यो भनेर बुरुक्क बुरुक्क उफ्रिने मान्छे होइन । म सबैका कुरा आरामपूर्व सुन्न सक्छु । जति सुकै कडा आलोचना किन नहुन्, दशकौं दशकौं आलोचना सुनेकाले मेरो छाला गैंडाको जस्तै भएको छ । आलोचना सुन्न सक्छु, बुझ्छु । त्यसले क्रिया प्रतिक्रिया नजन्माउने होइन, तर पनि म प्रतिक्रियाशील नेता होइन । धैर्यतापूर्वक सुन्छु ठिक बेठिक छुट्याउँछु । आफ्ना कुरा आफ्नो प्लेम फर्ममा प्रयोग गर्छु । म गलत प्लेटफर्ममा आफ्ना आवेग नपोखिउन भन्नेमा सचेत  छु ।

–कान्तिपुर दैनिक
११ बैशाख २०६८